लेख रचनाका लागि नेपाली त्रैमासिकको अनुरोध

nepali_logo_smमदन पुरस्कार गुठीको मुखपत्रका रूपमा विसं २०१६ सालदेखि निरन्तर रूपमा प्रकाशित नेपाली त्रैमासिकले २२६ औं अङ्कदेखि आफ्नो स्वरूप तथा र प्रकाशन हुने विषयवस्तुमा केही हेरफेर गर्न लागेको छ। गुठीका सदस्य सचिव कुन्द दीक्षित सम्पादक तथा दीपक अर्याल सह-सम्पादक रहने गरी प्रकाशित हुन लागेको नेपाली त्रैमासिकका तर्फबाट गत ५७ वर्षदेखि अविच्छिन्न रूपमा सम्पादकीय नेतृत्व दिने गुठीका अध्यक्ष श्री कमल दीक्षितज्यूप्रति हार्दिक आभार प्रकट गर्दछ।

नेपाली त्रैमासिकले छापा तथा पठन संस्कृति, पुस्तक, पत्रपत्रिका, मुद्रण, पुस्तकालय, अभिलेखालय आदिसँग सम्बन्धित लेख रचनाका साथै अभिलेखमा आधारित टिप्पणीहरू प्रकाशित गर्ने लक्ष्य लिएको छ। विगतमा जस्तै यहाँहरूको निरन्तर सहयोगको अपेक्षा राख्दै यहाँहरूको अध्ययनमा आधारित लेख रचनाहरू प्रकाशनका लागि पठाइदिनु हुन हार्दिक अनुरोध छ।

लेख-रचनाका सम्बन्धमा:

१)   यसभित्र पुस्तक, छापा, पत्रपत्रिका, प्रकाशन, फोटोग्राफी, अभिलेख, पुस्तकालय तथा अन्य विषयमा गरिएका खोजमुलक लेख, टिप्पणी, संस्मरण, अन्तर्वार्ता तथा ऐतिहासिक दस्तावेजहरू समावेश हुनेछन्।

२)   माथि उल्लिखित विषय बाहेक ऐतिहासिक सामग्री, पुस्तकालय वा अभिलेखमा आधारित अन्य विषयका लेख-रचनाहरू पनि यसभित्र समावेश हुन सक्नेछन्।

३)   लेख रचनाहरू मौलिक हुनुपर्नेछ तर ऐतिहासिक दस्तावेज, दुर्लभ लेख रचना, पुस्तक अंश वा समीक्षा पुन: प्रकाशन हुन सक्नेछन्। छापा संस्कृतिसँग सम्बन्धित अन्य भाषाका सामग्रीहरू पनि नेपाली भाषामा अनुवाद गरी समावेश गर्न सकिनेछ।

४)   लेख-रचना सामान्यत: १५०० शब्ददेखि ५००० शब्दसम्मका हुनेछन् तर आवश्यकता अनुसार यस्ता लेखहरू छोटा वा लामा पनि हुन सक्नेछन्। लेखसँगै दिइने नक्शा, फोटो, तालिका वा अन्य सामग्रीहरू प्रकाशनका लागि अनुमति लिने जिम्मा लेखकको हुनेछ।

५)   प्रकाशनका लागि प्राप्त लेख-रचना फिर्ता नहुने भएकाले लेखकले उक्त लेखको प्रति सुरक्षित राख्‍नु पर्नेछ।

६)   प्राप्त लेखहरूमा कुनै परिमार्जन आवश्यक देखिएमा परिमार्जनका निम्ति लेखकसँग अनुरोध गर्न सकिनेछ। सम्पादन कार्य पूरा भएपछि प्रकाशन स्वीकृति लिन लेखकलाई अन्तिम प्रारूप देखाइनेछ।

७)   अभिलेख टिप्पणीका हकमा अभिलेखको तस्बिर, स्रोत, आकार तथा अन्य विवरण खुलेको हुनुपर्नेछ। सोही अभिलेखका आधारमा टिप्पणी वा लेखसँग उक्त अभिलेखको तस्बिर समावेश गर्नुपर्नेछ।

८)   युनिकोड नेपाली फन्टमा टाइप गरिएको लेख निम्न ठेगानामा पठाउन सकिनेछ।

सम्पर्क ठेगाना

सम्पादक
नेपाली त्रैमासिक
पोष्ट बक्स नं ४२,
पाटनढोका, ललितपुर।
Email:nepali@mpp.org.np

मदन पुरस्कारका लागि पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गर्ने निर्णय

Press Release_Madan Puraskar Guthi_sm

मिति २०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औं साधारण सभाले आगामी २०७२ सालदेखि मदन पुरस्कारका लागि दर्ता हुने पुस्तकहरूबाट छनौट गरी १० (दश) ओटा पुस्तकको “श्रेष्ठ सूची” तयार गर्ने र ती पुस्तकहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकहरू मध्ये एक पुस्तकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्नेछ।

वैशाखको अन्त्य सम्ममा गुठीले मनोनयन समितिलाई आएको ग्रन्थहरूको लगत दिनेछ र मनोनयन समितिले तीमध्येबाट छनौट गरी “श्रेष्ठ” १० पुस्तकको नाम गुठीमा सिफारिस गर्नेछ।

मदन पुरस्कार गुठी

वि.सं. २०७० को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!

यही भदौ २९ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०७० सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ। सोही साधारण सभाले २०७० सालको पुरस्कार जगदम्बा-श्री ” नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट सङ्कलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहे बापत्” श्री शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गर्‍यो।

त्यसैगरी २०७० सालको मदन पुरस्कार “खलङ्गामा हमला- एउटी नर्सको डायरी” का लागि श्री राधा पौडेल लाई प्रदान गर्ने निर्णय गरेको छ।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको यस गुठीले २०४५ सालमा उहाँको निधनपछि उहाँका सम्झना स्वरूप पुरस्कार जगदम्बा-श्री थप गरेको हो। हाल दुवै पुरस्कार २/२ लाख रूपैयाँका छन्।

यी पुरस्कारहरु अब आउँदो नौरथामा वितरण गरिनेछन्।

मदन पुरस्कार गुठी यस समाचारलाई यथाशीघ्र प्रचार-प्रसार गरियोस् भन्ने हार्दिक अपिल गर्दछ।