मदन पुरस्कार गुठी

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो। गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम रू. ४०००/- रहेकोमा २०७५ सालदेखि रू. चार लाख भएको छ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू. एक लाखको सम्मान ‘जगदम्बा-श्री’ सोही सालबाट समर्पण गर्न शुरू भएको हो।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई सम्मान गरिने पुरस्कार हो भने ‘जगदम्बा-श्री’ नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार हो।